ललितपुर, वैशाख २२ – ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा गएराति एक कार दुर्घटनामा परेर बिजुलीको पोल भाँचिँदै सडकको बीच भागमा पुगेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनामा परेका तीन जना घाइते भएका छन्।
बा १५ च ७६५२ नम्बरको कार पोलमा ठोक्किएपछि ११ हजार भोल्टको करेन्ट प्रवाह हुने तार सहितको पोल सडकको बीचमै ढलेको हो। घाइतेहरुलाई बीएण्डबी अस्पतालमा उपचारका लागि लगिएको छ।
दुर्घटनापछि ललितपुर महानगरपालिकाको नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक लगायतको सहयोगमा पोल हटाउने प्रयास जारी छ। सडक अवरुद्ध भएकाले यात्रु तथा सवारी चालकहरूलाई असहज भएको छ।
ललितपुर महानगर प्रहरी प्रमुख तथा पूर्व ट्राफिक प्रहरी अधिकृत सिताराम हाछेथुले भने, “गाडी ठोक्किएर पोल ढलेको त धेरै पटक देखेको छु, तर सडक किनारमा गाडिएको पोल भाँचिएर सडकको बीचमा पुगेको घटना भने पहिलोपटक देखेँ।”
प्रहरीका अनुसार दुर्घटना मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाउँदा भएको हो। कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त छ र कार तीव्र गतिमा रहेको अनुमान गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।