सुर्खेत, साउन २३ – भारतको उत्तराखण्ड राज्यमा ‘क्लाउड ब्रस्ट’ (अत्यधिक वर्षा) पछि आएको भीषण बाढी र पहिरोले जाजरकोटका पाँचसहित सात नेपालीको ज्यान लिएको छ।
जाजरकोटको कुशे गाउँपालिका–२, डोब्री पिपलधाराका एउटै परिवारका पाँच जना — कर्णबहादुर सिंह (४२), मानबहादुर सिंह (४५), रामबहादुर सिंह (४०), रबिन सिंह (१७) र निमबहादुर सिंह (३५) — को मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन्।
त्यस्तै, जुम्लाको तातोपानी गाउँपालिका, कुडारीका जनकबहादुर शाही र रुकुम पश्चिमका एक जनाको पनि ज्यान गएको छ। रुकुमका मृतक मानबहादुर सिंहका ज्वाइँ रहेको बताइएको छ, यद्यपि नाम खुलाइएको छैन।
घटनामा ज्यान जोगाउन सफल भएका मानबहादुर सिंहका छोरा नवीन सिंहले म्यासेन्जरमार्फत आफन्तलाई जानकारी दिएपछि घटनाबारे यकिन भएको हो। गाउँपालिका अध्यक्ष बस्नेतका अनुसार, वर्षाका कारण काम रोकिएपछि नेपाली कामदारहरू खाजा खान बजार झरेका थिए। त्यही बेला बाढी आयो।
नवीन सिंह भने केही पर क्यारेमबोर्ड खेल्दै थिए। बाढी आउँदा उनी भागेर ज्यान जोगाउन सफल भए, तर फर्केर हेर्दा बजार र वरिपरिका घरहरू पूर्ण रूपमा बगिसकेको र त्यहाँ रहेका सबै मानिसको मृत्यु भएको देखिएको उनले बताएका छन्।
धान रोपाइँ सकिएपछि सिजन अनुसार काम गर्न भारत गएका नेपालीहरू श्रावण महिनामा उत्तराखण्ड पुगेका थिए। अहिले पनि केही नेपाली बेपत्ता छन्।
अध्यक्ष बस्नेतले बेपत्ताहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, “भारत सरकारले इन्टरनेट र संचार सेवा बन्द गरेकोले अहिले सम्पर्क गर्न निकै कठिन भइरहेको छ।”
