सशस्त्रको गोलीपछि आक्रोश, शव राखेर राजमार्ग अवरुद्ध


सशस्त्रको गोलीपछि आक्रोश, शव राखेर राजमार्ग अवरुद्ध
  • नवकिरण
  • पौष १७, २०८२

सुनसरी, पुस १७ – सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको गोली लागेर एक जनाको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ। सशस्त्रको गोली लागेर ज्यान गुमाउने व्यक्ति कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साह हुन्।

स्थानीयवासीका अनुसार बिहीबार राति करिब साढे एक बजे अचानक गोली चलेको आवाज आएको थियो। घटनास्थलमा पुग्दा सशस्त्र प्रहरीको घेराबन्दीबीच एक व्यक्ति गोली लागेर लडिरहेको अवस्थामा देखिएको उनीहरूको भनाइ छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–४ गण हेडक्वाटर सुनसरीले भने भन्सार छलिका सामान नियन्त्रण गर्ने क्रममा घटना भएको स्पष्ट पारेको छ। गण प्रमुख एसपी निर्मल थापाका अनुसार दुईवटा सफारी गाडीमा आएका समूहले सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गर्दै फायरिङ गरेपछि जवाफी कारबाही गरिएको थियो। सो क्रममा चिनीका बोरा बोकेर पछाडिबाट आइरहेको सिटी चालक विजय साहलाई गोली लागेको बताइएको छ।

यता स्थानीयले सशस्त्र प्रहरीको भनाइप्रति आपत्ति जनाउँदै घटना नियोजित हत्या भएको आरोप लगाएका छन्। उनीहरूले रकम असुलीको विवादमा सामान्य नागरिकलाई गोली हानिएको दाबी गर्दै लौकही क्षेत्रमा प्रदर्शन सुरु गरेका छन्।

आक्रोशित स्थानीयले मृतकको शव सडकमा राखेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको जनाएको छ।

स्थिति थप बिग्रन नदिन घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनले आन्दोलनरत पक्षसँग संवादमार्फत समाधान खोज्ने तयारी थालेको जनाएको छ।