जवाङ खोलाको पहिरोले मुग्लिङ–काठमाडौं सडक फेरि ठप्प, सयौँ सवारी अलपत्र


जवाङ खोलाको पहिरोले मुग्लिङ–काठमाडौं सडक फेरि ठप्प, सयौँ सवारी अलपत्र
  • नवकिरण
  • श्रावण ४, २०८३

धादिङ, साउन ४ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला क्षेत्रमा सोमबार बिहान पुनः पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षासँगै आएको लेदो, ढुङ्गा र माटो सडकमा थुप्रिएपछि दुवैतर्फको आवागमन रोकिएको हो।

सडकमाथिबाट अझै पनि ढुङ्गा खसिरहेकाले पहिरो हटाउने कार्य जोखिमपूर्ण बनेको छ। यसका कारण राजमार्गमा यात्रुवाहक तथा मालवाहक गरी सयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरूले गन्तव्यमा पुग्न कठिनाइ भोगिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरो हटाउन डोजर परिचालन गरिएको छ। यद्यपि निरन्तर ढुङ्गा झरिरहेका कारण सडक तत्काल सञ्चालनमा ल्याउन चुनौती रहेको प्रहरीले जनाएको छ।

प्रहरीले सडक खुल्ने समय निश्चित नभएकाले यात्रा गर्नेहरूले वैकल्पिक मार्गको प्रयोग गर्न वा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।