काठमाडौं, असार २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सम्बन्धित कागजातहरू सर्वोच्च अदालतले निर्वाचन आयोगबाट झिकाउने आदेश दिएको छ।
रास्वपाबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चको हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
अब निर्वाचन आयोगले रास्वपाको प्रारम्भिक दर्ता सम्बन्धी कागजात, आयोगको निर्णय, ढकाललाई गरिएको कारबाही, त्यससम्बन्धी पत्राचार लगायतका सम्पूर्ण अभिलेख अदालतमा बुझाउनु पर्नेछ।
ढकालले आफू अझै पनि रास्वपाको महामन्त्री पदमा कायम रहेको दाबी गर्दै आफूलाई निष्कासन गर्न आयोगले दिएको मान्यता खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए।
यस विषयमा अब आयोगले आवश्यक दस्तावेज बुझाएपछि मात्र अदालतले अन्तिम निर्णय गर्नेछ।