काठमाडौं, असार ३० – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुसकाण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।
भ्रष्टाचारसम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा तानिएका हुन्। उनले भूमि आयोग गठन तथा मालपोत कार्यालय प्रमुखको सरुवासम्बन्धी विषयमा विचौलियासँग भएको संवादमा ५३ लाख रुपैयाँ घुस मागेको र कास्कीको भूमि आयोग अध्यक्ष बनाउने सर्तमा थप २५ लाख मागेको खुलासा भएको छ।
गुप्ताले कसैसँग गरेको उक्त अडियो सार्वजनिक भएपछि उनको आलोचना चुलिएको छ। नेकपा भित्रैबाट पनि उनलाई तत्काल पदबाट हटाउन दबाव बढिरहेको छ।
यही परिस्थितिमा प्रधानमन्त्री ओलीले गुप्तालाई भेटवार्ताका लागि बालुवाटार बोलाएका हुन्। गुप्ता हाल बालुवाटार पुगिसकेको स्रोतले जानकारी दिएको छ। अब प्रधानमन्त्रीको निर्णयपछि गुप्ताको राजनीतिक भविष्य कता मोडिन्छ भन्ने चासो बढेको छ।