काठमाडौं, साउन ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्। संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले प्रतिप्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।
त्यसैगरी, बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्तिसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची तय भएको छ।
संसद सचिवालयका अनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” माथिको प्रस्तावलाई निर्णयार्थ पेस गरिनेछ। साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनसँग सम्बन्धित मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता विषयमा सामान्य छलफलको प्रस्ताव पनि पेस गर्ने कार्यक्रम रहेको छ।
संसद बैठकमा सरकारको जवाफदेहीतालाई जोड दिने र महत्वपूर्ण विधेयक तथा अन्तर्राष्ट्रिय सम्झौतामा छलफल अघि बढाउने तयारी भइरहेको सचिवालयले जनाएको छ।