गणतन्त्रको आवरणमा झारपात मौलाएका छन् : महासचिव विप्लव


गणतन्त्रको आवरणमा झारपात मौलाएका छन् : महासचिव विप्लव
  • नवकिरण
  • श्रावण ७, २०८२

काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गणतन्त्र स्थापनापछि देशमा दलाल प्रवृत्ति मौलाएको कडा टिप्पणी गरेका छन्।

बुधबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणतन्त्रको सुरुवात भए पनि त्यसको सार हराउँदै गएको बताएका हुन्। “गणतन्त्रका फूलहरू खोज्न अब झारपात हटाउनु पर्ने भएको छ,” विप्लवले भने, “राजनीतिक क्षेत्रमा बर्खाको च्याउझैं दलहरू उम्रिएका छन्।”

उनका अनुसार गणतन्त्रले अपेक्षित परिवर्तन नदिएको र उल्टै दलालशाही, अवसरवाद र भ्रष्टाचारको खेती भएको छ। उनले भने, “जनताले कुन फूल हो, कुन झारपात भनेर छुट्याउन नसक्ने अवस्था आएको छ। गणतन्त्रको नाममा झारपातले सबै ढाकेको छ।”

कम्युनिष्ट आन्दोलनमा एकता अपरिहार्य रहेको बताउँदै महासचिव चन्दले स्पष्ट दृष्टिकोण र साझा मार्गरेखासहित सहकार्य गर्नुपर्ने धारणा राखे। “हामीबीच एकताको कुरा चलिरहेकै छ, तर उकुसमुकुस पनि छ,” उनले भने, “हामीलाई सहकार्य, मोर्चा र नयाँ सोच आवश्यक छ।”

उनले प्रचण्ड नेतृत्वको पुरानो निर्णयको पनि स्मरण गर्दै भने, “पहाड भत्काउने निर्णय हामीले गर्‍यौं, आज पनि जरुरत परे त्यस्तै निर्णय लिन्छौं।”

उनले दलाल शक्तिहरूलाई कडा रूपमा सामना गर्नुपर्ने आवश्यकता दोहोर्‍याउँदै भने, “हामीलाई थाहा छ, कुनकुन खाल्डोमा तिनीहरूलाई हाल्नुपर्छ।”

महासचिव चन्दले समग्रमा अहिलेको अवस्था राजनीतिक सफाइको माग गरिरहेको स्पष्ट गर्दै कम्युनिष्टहरूलाई दृढ विचार र संगठनात्मक एकतासहित अघि बढ्न आह्वान गरे।