प्रधानमन्त्री ओली चीन भ्रमण सकेर स्वदेश फर्किँदै


प्रधानमन्त्री ओली चीन भ्रमण सकेर स्वदेश फर्किँदै
  • नवकिरण
  • भाद्र १८, २०८२

काठमाडौं, भदौ १८ – प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन भ्रमण सकेर स्वदेश फर्किँदैछन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा उनले भदौ १४ गते चीन प्रस्थान गरेका थिए। ओलीले चीनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागिता जनाएका थिए। त्यस्तै, उनले सम्मेलनलाई सम्बोधन गर्दै विभिन्न राष्ट्रका शीर्ष नेतासँग भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान चङसँग उच्चस्तरीय भेटघाट गरेका थिए। साथै, उनले शिखर सम्मेलनमा आएका रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, क्याम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि छुट्टाछुट्टै वार्ता गरेका थिए।

ओली आजै बेइजिङमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी भएर स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले) सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी टोली पनि भ्रमणमा सहभागी थिए।