चार महिनामै श्रम संस्कृति पार्टीको उदय, प्रत्यक्षतर्फ ३ सिट जित


चार महिनामै श्रम संस्कृति पार्टीको उदय, प्रत्यक्षतर्फ ३ सिट जित
  • नवकिरण
  • फागुन २४, २०८२

काठमाडौं, फागुन २४ – करिब चार महिनाअघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचन–२०८२ मा प्रत्यक्षतर्फ तीन सिट जित्न सफल भएको छ।

पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट निर्वाचित भएका छन् भने महासचिव आरेन राई खोटाङबाट विजयी भएका छन्। त्यस्तै ध्रुवराज राई भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले गत असोज महिनामा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले कात्तिक १६ गते श्रम संस्कृति पार्टीलाई औपचारिक रूपमा दल दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो।

यसैबीच समानुपातिकतर्फ करिब ४३ लाख मत गणना हुँदा श्रम संस्कृति पार्टीले ९७ हजार ८९२ मत प्राप्त गरेको छ। समानुपातिक प्रणालीतर्फ प्रतिनिधित्व पाउनका लागि कुनै पनि दलले कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ।