काठमाडौं, साउन ३ – नेकपा एमालेको पोलिटब्युरो बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज पनि जारी रहेको छ।
बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनबारे गम्भीर छलफल भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ भने बैठक आजै सम्पन्न गर्ने तयारी गरिएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक यथासक्य छिटो सक्न निर्देशन दिएको गौतमले बताएका छन्।
बैठकमा नेताहरूले जिल्ला कमिटीसँग समन्वय गर्दै प्रदेश तथा स्थानीय कमिटीलाई थप प्रभावकारी र कार्यकारी बनाउने सुझाव दिएका छन्। साथै, बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावसँगै ७० वर्ष उमेर सीमा, दुई कार्यकालको सीमा, र पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियताजस्ता विषयमा पनि नेताहरूले धारणा व्यक्त गरेका छन्।
यसअघि बिहीबार बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनलाई पारित गरिसकेको छ।
एमालेले विधान महाधिवेशनलाई आगामी रणनीतिक दिशानिर्देश तय गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिएको छ।