काठमाडौं, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ निर्वाचन क्षेत्रको उम्मेदवार बनेका डा. लेखजंग थापाले आज पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया गर्ने भएका छन्।
पार्टीले आइतबार मात्रै थापालाई उम्मेदवारको रूपमा औपचारिक घोषणा गरेको हो। त्यसको भोलिपल्टै उनले राजधानीस्थित रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे पत्रकारहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।
रास्वपाले प्राइमरी निर्वाचन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशीकरणजस्ता विधि प्रयोग गरी उम्मेदवार छनोट प्रक्रिया सम्पन्न गरेको थियो। सो प्रक्रियामा प्रतिस्पर्धामा उत्रिएका ९ जनामध्ये थापाले ८ जनालाई पछि पार्दै उम्मेदवारी जितेका हुन्।
थापाको पारिवारिक पृष्ठभूमि सार्वजनिक भएपछि केही विवाद पनि उठेका छन्। तर, पार्टी नेतृत्वले उनलाई विश्वास गर्दै अन्ततः उम्मेदवारका रूपमा अघि सारेको छ।