विद्यादेवी भण्डारीको कडा अडान : “अब पछि हट्दिनँ, सक्रिय राजनीतिमा आइसकेँ”


विद्यादेवी भण्डारीको कडा अडान : “अब पछि हट्दिनँ, सक्रिय राजनीतिमा आइसकेँ”
  • नवकिरण
  • श्रावण ६, २०८२

काठमाडौँ, साउन ६ – नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक च्यासलमा जारी रहँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुन: प्रवेशले चर्चा तानिरहेको छ। बैठकमा उनको भूमिकाबारे बहस चर्किँदै गर्दा भण्डारीले स्पष्ट रूपमा भनिन् – “अब म पछि हट्दिनँ।”

मंगलबार बुढानीलकण्ठस्थित आफ्नो निवास भंगालमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भण्डारीले आफू अब एमालेको सक्रिय राजनीतिमा पूर्णरूपमा संलग्न भइसकेको बताइन्। उनीनिकट स्रोतका अनुसार उनले भनिन्, “म सक्रिय राजनीतिमा आइसकेको छु। पछि हट्ने कुनै सम्भावना छैन।”

भण्डारीले पछिल्लो समय एमाले कार्यकर्ताहरूमाथि भइरहेको दवाब र त्रास सिर्जना उचित नभएको भन्दै त्यसविरुद्ध आवाज उठाउनुपर्ने धारणा राखेकी छन्।

उनको यस्तो अभिव्यक्तिलाई च्यासलको बैठकसँग जोडेर विश्लेषण गर्न थालिएको छ, जहाँ उनीप्रति समर्थन जनाउने नेताहरूको अभिव्यक्तिपछि केही नेताहरूको अनुहारमा समेत परिवर्तन देखिएको बताइएको छ।