पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने प्रयासमा एमालेको ब्रेक, आठ कारण सार्वजनिक


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने प्रयासमा एमालेको ब्रेक, आठ कारण सार्वजनिक
  • नवकिरण
  • श्रावण ७, २०८२

काठमाडौँ, साउन ७ – नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रिया रोकेको छ। पार्टीले भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश संविधानको भावना विपरीत हुने ठहर गर्दै आठवटा प्रमुख कारणसहित उनको राजनीतिक पुनरागमनमा रोक लगाएको हो।

एमालेको दुई दिनसम्म चलेको नवौँ केन्द्रीय कमिटी बैठकपछि प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पूर्वराष्ट्रपतिले राष्ट्राध्यक्षको गरिमा ओगटिसकेकाले कुनै दलको सक्रिय सदस्य वा नेता बन्नु संविधान र प्रचलित अभ्यासअनुसार उपयुक्त मानिँदैन।”

संविधानको भाग ६ को धारा ६१ उल्लेख गर्दै विज्ञप्तिमा राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रवर्द्धक, संविधानको पालक र संरक्षणकर्ता तथा सेनाको परमाधिपति हुने जिम्मेवारी बोकेको उल्लेख गरिएको छ। यस्ता गहन जिम्मेवारी पाएको व्यक्तिले पुनः दल विशेषमा आबद्ध भएर राजनीति गर्नु सम्भव नहुने पार्टीको निष्कर्ष छ।

एमालेले राष्ट्रपतिको गरिमा, निष्पक्षता र सार्वजनिक भूमिकालाई ध्यानमा राख्दै पूर्वराष्ट्रपति भण्डारीलाई दलको सदस्यता लिने वा नेताको भूमिकामा फर्कन नहुने सुझाव दिएको छ। पार्टीले भण्डारीलाई उच्च सम्मानका साथ पूर्वराष्ट्रपतिका हैसियतमा रहने आग्रहसमेत गरेको छ।

विज्ञप्तिमा उल्लिखित आठ कारणहरूमा मुलुकको राष्ट्राध्यक्षको गरिमा, राष्ट्रिय गौरवको प्रतिक, गणतन्त्रको संस्थागत रूप, सेनाको परमाधिपति तथा सबै दल र नागरिकका साझा प्रतिनिधिका रूपमा पूर्वराष्ट्रपतिले दल विशेषमा आबद्ध हुन नमिल्ने स्पष्ट उल्लेख गरिएको छ।

एमालेको यो निर्णयसँगै भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको सम्भावना टरेको देखिएको छ।