कांग्रेस राष्ट्रको जिम्मेवारी बोकेको प्रमुख शक्ति हो : महामन्त्री थापा


कांग्रेस राष्ट्रको जिम्मेवारी बोकेको प्रमुख शक्ति हो : महामन्त्री थापा
  • नवकिरण
  • मंसिर २९, २०८२

ललितपुर, मंसिर २९ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई केवल राजनीतिक दलको रूपमा मात्र होइन, देश सञ्चालन गर्ने जिम्मेवारी बोकेको राष्ट्रिय शक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस ललितपुरद्वारा जिल्ला पार्टी कार्यालय नखिपोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रिय शक्ति कमजोर हुँदा त्यसको प्रत्यक्ष असर देशले भोग्नुपर्ने उल्लेख गरे। उनले राष्ट्रिय शक्तिसँग राजनीतिक मात्र होइन, राष्ट्रिय उत्तरदायित्व पनि जोडिएको बताए।

कांग्रेसलाई केवल निर्वाचन जित्ने उद्देश्यले शक्ति चाहिएको होइन, देशलाई सही दिशामा लैजान पनि बलियो बनाउनु आवश्यक रहेको थापाको भनाइ थियो। उनले विगतमा कांग्रेसले देशलाई हिंसा र अस्थिरताबाट बाहिर निकाल्दै सबैलाई समेट्ने भूमिका खेलेको स्मरण गराए। “नेपाली कांग्रेस आफू हारेर पनि देशलाई जिताउने पार्टी हो भन्ने प्रमाण इतिहासले देखाइसकेको छ,” उनले भने।

महामन्त्री थापाले भीड उचाल्ने र उत्तेजना फैलाउने राजनीति कांग्रेसको स्वभाव नभएको स्पष्ट गर्दै कुशासनबाट आजित नागरिकलाई विश्वास दिलाउँदै सुशासन र विकासको बाटोमा देशलाई अगाडि बढाउने दायित्व कांग्रेसको रहेको बताए।

उनले कांग्रेसले फेरि एकपटक आत्मसमीक्षा गर्दै विगतका कमजोरी सुधार्नुपर्ने आवश्यकता औँल्याए। साथै, पार्टी छोडेर गएका नेताकार्यकर्ताको पुनः आगमनले कांग्रेस अझ बलियो बन्ने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लाभर कांग्रेसले ५६ प्रतिशत मतसहित उल्लेखनीय सफलता हासिल गरेको जानकारी दिँदै आगामी दिनमा अझ राम्रो परिणाम आउने विश्वास व्यक्त गरे।

कार्यक्रमका अवसरमा ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार, वडा नं १३ का वडाध्यक्ष गणेश केसीसहित सुशील सापकोटा र जितेन्द्र गजुरेल नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।