चितवन, फागुन २३ – चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहेकी नेकपाकी रेनु दाहालले निर्वाचन परिणामलाई सम्मान गर्दै आफ्नो हार स्वीकार गरेकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै दाहालले आफूले विगत नौ वर्षभरि भरतपुरको विकास, समृद्धि र सुशासनका लागि निरन्तर काम गरेको उल्लेख गर्दै जनताको मन जित्न सफल भए पनि मत भने जित्न नसकेको बताइन्।
उनले भरतपुरको विकासका लागि आवश्यक नीतिगत काम संसदबाट प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने विश्वासका साथ महानगर प्रमुख पदको कार्यकाल बाँकी हुँदाहुँदै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको स्पष्ट पारेकी छन्।
निर्वाचनमा विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई बधाई दिँदै दाहालले चितवनका नागरिकको विश्वास र मतको सम्मान हुने अपेक्षा व्यक्त गरिन्। उनले आगामी दिनमा जिल्लाको विकास र समृद्धिका लागि निरन्तर काम गर्न शुभकामना पनि दिएकी छन्।
यसैबीच, निर्वाचनमा आफूलाई समर्थन र मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै उनले उक्त विश्वासलाई कहिल्यै नबिर्सने बताइन्। साथै चुनावी अभियानमा साथ दिने पार्टीका नेता–कार्यकर्ता, समर्थक, सञ्चारकर्मी तथा कलाकारलाई पनि धन्यवाद दिएकी छन्।
चितवनबासीको हित, विकास र समृद्धिका लागि आगामी दिनमा पनि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता दाहालले व्यक्त गरेकी छिन्।
