काठमाडौं, फागुन २५ – प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ। निर्वाचन परिणामपछि पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी लिएर नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने आवाज उठ्न थालेको हो।
उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन परिणामपछि सामाजिक सञ्जालमार्फत पार्टीभित्र भएका कमजोरीको गम्भीर समीक्षा गर्दै नीति, नेतृत्व र कार्यशैलीलाई जनअपेक्षाअनुसार पुनर्गठन गर्नुपर्ने संकेत दिएका छन्। मतगणना सुरु हुँदा पछि परेपछि उनले रुपन्देहीमै नेताहरूसँग छलफल गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखेको बताइएको छ।
पार्टीभित्र उठिरहेको नेतृत्व परिवर्तनको बहसप्रति उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ पनि सकारात्मक देखिएका छन्। उनले अध्यक्ष ओलीले स्वयं राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्ने विचार आफ्ना निकट नेताहरूसँग राख्दै आएका छन्।
यस्तै, उपमहासचिव योगेश भट्टराईले निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्वप्रति जनताले असन्तुष्टि व्यक्त गरेको संकेत दिएको बताएका छन्। उनले पार्टीभित्र व्यापक रूपान्तरण र खुला बहस आवश्यक रहेको उल्लेख गरेका छन्।
अर्कातिर, इतर समूहका नेताहरू भने तत्काल स्पष्ट धारणा सार्वजनिक नगरी ‘पर्ख र हेर’ को रणनीतिमा देखिएका छन्। उनीहरूका अनुसार केवल नेतृत्व परिवर्तनले मात्र पार्टीको वर्तमान संकट समाधान नहुने भएकाले व्यापक पुनर्गठन आवश्यक छ।
यसपटकको निर्वाचनमा एमाले प्रत्यक्षतर्फ निकै कम सिटमा सीमित भएको छ भने समानुपातिक मत पनि अघिल्लो निर्वाचनको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। परिणामस्वरूप पार्टीभित्र नेतृत्व र नीति दुवैबारे पुनर्विचार गर्नुपर्ने माग बलियो बन्दै गएको छ।
