गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी


गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
  • नवकिरण
  • फागुन २५, २०८२

गोरखा, फागुन २५ – गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। उनले २९ हजार ८९६ मत पाए भने कांग्रेसका प्रेम खत्री १५ हजार ३९८ मतसहित दोस्रो स्थानमा रहे। नेकपाका हरिराज अधिकारी तेस्रो र एमालेका रामचन्द्र लामिछाने चौथो स्थानमा रहे।

गत निर्वाचन इतिहास हेर्दा यो क्षेत्रमा राजनीतिक प्रतिस्पर्धा तीव्र रहेको छ। २०७४ मा कांग्रेस माओवादीसँग पराजित भएको थियो भने २०७९ मा गठबन्धनसहित विजयी भएको थियो। यस वर्ष रास्वपा, कांग्रेस र माओवादीबीच फेरि प्रतिस्पर्धा देखियो।

सुधन गुरुङ पछिल्लो समय सामाजिक आन्दोलन र नागरिक गतिविधिबाट चर्चामा आएका थिए। विशेषगरी भदौ २३–२४ को जेनजी आन्दोलनमा उनी अग्रपंक्तिमा रहे। नेतृत्वविहीन मोर्चामा उनले भूमिका निर्वाह गरेका थिए।

उनको राजनीतिक करियर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन र मन्त्रिपरिषद् विस्तारसम्म जोडिएको थियो। त्यसपछि रास्वपा बाट गोरखा–१ मा प्रतिनिधिसभा उम्मेदवारी दिएका थिए।

गुरुङको जन्म काठमाडौँमा भएको हो, तर पुर्ख्यौली थलो चुमनुव्री गाउँपालिका–३ सिर्दिवास हो। २०४४ सालमा जन्मिएका उनले सहरमै बाल्यकाल बिताए र मल्टी इन्टरनेसनल कलेजबाट ‘ए लेभल्स’ पूरा गरे।

सामाजिक कार्यमा उनी सक्रिय छन्। २०७२ सालको गोरखा भूकम्पपछि ‘हामी नेपाल’ संस्था खोलेर राहत र उद्धारमा खटिएका थिए। देश–विदेशका संघसंस्थासँग जोडिँदै उनी सामाजिक क्षेत्रमा अग्रसर भइरहेका छन्।