गोरखा, फागुन २५ – हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा १९ उम्मेदवारले आफ्नो जमानत गुमाएका छन्। यसमा एमालेका उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) समेत परेका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार, गोरखा–२ मा कुल ५४ हजार १४७ सदर मतमध्ये १० प्रतिशत मत नपुगेका कारण १३ उम्मेदवारको जमानत जफत भएको छ। जमानत जोगाउन ५ हजार ४१५ मत आवश्यक भएको भए पनि चक्रे मिलनले मात्र ३ हजार ८७ मत प्राप्त गरे।
यस क्षेत्रमा अन्य उम्मेदवारहरूमा उज्यालो नेपाल पार्टीका बलराम तामाङ ६३९, राप्रपाका कुलबहादुर बस्नेत २९२, मंगोल नेशनल अर्गनाइजेसनका सोमबहादुर गुरुङ २९०, माओवादी उम्मेदवार टेकबहादुर प्रधान १३० मतमा सीमित रहे।
गोरखा–१ मा १२ उम्मेदवार रहेका थिए, जसमा १० जनाको जमानत जफत भएको छ। यसमा एमालेका रामचन्द्र लामिछाने ३७३२, उज्यालो नेपाल पार्टीका रामकाजी राना मगर ४८९, राप्रपाका केदारमणी खनाल ३१० मत ल्याउन सफल भए।
दुवै निर्वाचन क्षेत्रमा कुल मतको १० प्रतिशत नपुग्दा उम्मेदवारहरूको जमानत जफत भएको निर्वाचन कार्यालयले पुष्टि गरेको छ। यससँगै गोरखामा उम्मेदवारी दिनेको संख्या र मत प्राप्तिमा स्पष्ट अन्तर देखिएको छ।
