काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पक्षमा नतिजा नआए पनि जनताको विश्वास र समर्थन प्राप्त भएको बताएका छन्। उनले चुनावी परिणामलाई स्वीकार गर्दै जनताको माया नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताएका हुन्।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले परिवर्तनको अपेक्षासहित जनताले आफूहरूलाई साथ दिएको उल्लेख गरेका छन्। साथै उनले निर्वाचनमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना पनि दिएका छन्।
नयाँ सरकारले गर्ने राम्रो काममा सहयोग गर्ने तर गलत निर्णय भएमा रचनात्मक रूपमा खबरदारी गर्ने उनले बताएका छन्। देशको विकासमा ढिलाइ हुनुको मुख्य कारण कार्यान्वयन पक्ष कमजोर हुनु रहेको उनको भनाइ छ।
घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य, विद्युत् पहुँच विस्तार तथा केही ठूला परियोजनाको समस्या समाधानजस्ता कामहरू गरेको पनि स्मरण गरेका छन्।
निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेका प्रधानमन्त्री, सुरक्षा निकाय र मतदातालाई धन्यवाद दिँदै उनले ‘उज्यालो नेपाल’ निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
