काठमाडौं, फागुन २६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीचको सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउने दिशामा सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सफलता प्राप्त गरेको भन्दै बालेन र रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोनमार्फत बधाई दिएका थिए। त्यसबारे जानकारी मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए।
मोदीले आफ्नो सन्देशमा रास्वपाको विजयप्रति शुभकामना व्यक्त गर्दै आगामी दिनमा नेपाल–भारतबीच साझा समृद्धि, प्रगति र जनकल्याणका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सोही पोस्टमा प्रतिक्रिया दिँदै बालेनले शुभकामनाका लागि धन्यवाद व्यक्त गरेका छन्। उनले नेपाल र भारतबीचको ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउन मिलेर काम गर्ने विश्वास व्यक्त गरेका छन्।
साथै बालेनले हालै सम्पन्न क्रिकेट विश्वकपमा लगातार दोस्रो पटक उपाधि जितेकोमा भारत सरकार र भारतीय जनतालाई पनि बधाई दिएका छन्।
