५२ वर्षको उमेरमा कक्षा १ मा भर्ना भइन् वडासदस्य डल्लीदेवी


५२ वर्षको उमेरमा कक्षा १ मा भर्ना भइन् वडासदस्य डल्लीदेवी
  • नवकिरण
  • जेष्ठ ३, २०८२

कञ्चनपुर, जेठ ३ – लालझाडी गाउँपालिका–४ की वडासदस्य डल्लीदेवी चौधरी ५२ वर्षको उमेरमा विद्यालय भर्ना भएकी छिन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयको कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्। उनी सोही विद्यालय व्यवस्थापन समितिकी सदस्य समेत हुन्।

बाल्यकालमा पढ्न नपाएको पीडा र हालको भूमिकामा लेखपढको आवश्यकता महसुस भएपछि उनले विद्यालय जाने निर्णय गरेकी हुन्। “सबै साथीहरूले हस्ताक्षर गर्दा मैले औंठाछाप लगाउँदा लाज लाग्थ्यो,” उनले भनिन्, “अब पढ्न लेख्न जान्नैपर्छ भन्ने लागेर भर्ना भएँ।”

घरेलु काम, विवाहपछिको जिम्मेवारी र समयको अभावले शिक्षाबाट टाढिएकी चौधरीले अहिले घरमै नातिनीहरूको सहयोगमा बाह्राखरी र दुना पढ्न थालेकी छिन्। समय मिल्दा विद्यालयमै कक्षामा सहभागी हुने गरेकी छन्।

विद्यालयका प्रधानाध्यापक जगन्नाथ भट्टका अनुसार उनलाई किताबहरू उपलब्ध गराइ आवश्यक सहयोग प्रदान गरिएको छ। “उहाँको पढ्ने इच्छा बलियो छ,” उनले भने, “हामीले साक्षर बनाउने लक्ष्यसहित पढाइ सुरु गरेका छौं।”

अब उनले पढ्न लेख्न सिकेर आगामी चुनावमा वडाध्यक्ष बन्ने लक्ष्य राखेकी छन्। डल्लीदेवीको यो कदमले उमेरको सीमाभन्दा ठूलो इच्छाशक्ति र आत्मबल हुन्छ भन्ने सन्देश दिएको छ।