काठमाडौं, असार १३ – राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आवश्यक प्राविधिक काम अन्तिम चरणमा रहेकाले आजै नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको छ। यदि समयमै प्रक्रिया पूरा नभए भोलिसम्म नतिजा सार्वजनिक गरिने बताइएको छ।
‘प्राविधिक विषय मिलाउन बाँकी छ, त्यो मिल्नेबित्तिकै बोर्ड बैठक बसेर नतिजा प्रकाशन गरिन्छ,’ अध्यक्ष शर्माले बताए, ‘हामी आवश्यक प्रक्रिया पुरा गर्ने क्रममा छौं।’
उनका अनुसार आफू कार्यालयमा पुगिसकेका छन् र बोर्ड बैठकका लागि अन्य सदस्यहरूलाई पनि खबर गरिएको छ।
२०८१ साल चैत ७ गतेदेखि सुरु भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
बोर्डले नतिजा सार्वजनिक गर्ने बित्तिकै विद्यार्थीहरूले वेबसाइट तथा एसएमएस सेवामार्फत आफ्ना ग्रेड हेर्न सक्नेछन्। परीक्षा बोर्डले नतिजा हेर्न प्रयोग हुने वेबसाइट र अन्य माध्यमबारे चाँडै जानकारी दिने जनाएको छ।