नारायणगढ–मुग्लिन सडक आज दिउँसो दुई घण्टाका लागि बन्द


नारायणगढ–मुग्लिन सडक आज दिउँसो दुई घण्टाका लागि बन्द
  • नवकिरण
  • आश्विन ६, २०८२

काठमाडौं, असोज ६ – नारायणगढ–मुग्लिन सडकखण्डमा आज दिउँसो दुई घण्टा सवारी आवागमन रोकिने भएको छ। तुइन खोला पुलनजिक खसेको पहिरो पूर्णरूपमा हटाउन सडक डिभिजन कार्यालय भरतपुरले आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो।

गत शुक्रबार खसेको ठूलो पहिरोका कारण यो सडक करिब ४० घण्टासम्म अवरुद्ध भएको थियो। त्यसपछि आइतबार साँझबाट एकतर्फी सवारी सञ्चालनमा ल्याइए पनि रातिको समयमा जोखिम हुने भएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म सडक फेरि बन्द गरिएको थियो।

आज बिहानसम्म पुल नजिकको भागमा मात्र सवारी एकतर्फी चलिरहेका छन् भने अन्य स्थानमा दुईतर्फी यातायात सहज छ। दशैं नजिकिँदै गएपछि यात्रुको चाप बढ्ने भएकाले बाँकी माटो र ढुंगा हटाएर सडकलाई पूर्णरूपमा दुईतर्फी सञ्चालन गर्ने तयारी गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

लामो समयसम्म सडक बन्द हुँदा सवारीसाधनको भीड बढेको र लेन अनुशासन नमान्दा विभिन्न स्थानमा जाम समेत हुने गरेको छ। ट्राफिक प्रहरीले यात्रुलाई सतर्क रहन र सवारी साधन अनुशासनपूर्वक चलाउन आग्रह गरेको छ।