एमाले महाधिवेशनबाट २४ बुँदे राजनीतिक प्रस्ताव पारित


एमाले महाधिवेशनबाट २४ बुँदे राजनीतिक प्रस्ताव पारित
  • नवकिरण
  • पौष ४, २०८२

काठमाडौँ, पुस ४ – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले २४ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ। प्रस्तावमा जेन–जी युवाहरूका माग पुनर्स्थापित संसद्मार्फत संवैधानिक प्रक्रियाबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

महाधिवेशनले सरकारद्वारा जिम्मेवार दललाई बेवास्ता गर्दै जेन–जीलाई भ्रममा पार्ने प्रयास भएको ठहर गरेको छ। साथै, हिंसा र विध्वंशबाट टाढा रहन, शान्तिपूर्ण आन्दोलन कायम राख्न र राजनीतिक दलसँग सार्थक संवादमा आउन युवाहरूलाई आह्वान गरिएको छ।

एमालेले ताजा जनादेशका लागि निर्वाचनबाट कहिल्यै पछि नहट्ने स्पष्ट गर्दै वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको आरोप पनि लगाएको छ। पार्टीले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडाइका साथ अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएको छ।