त्रिविको ५१औँ दीक्षान्त समारोह आज, नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि


त्रिविको ५१औँ दीक्षान्त समारोह आज, नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
  • नवकिरण
  • पौष १०, २०८२

काठमाडौं, पुस १० – त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज बिहीबार आयोजना हुँदैछ। विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह हुन लागेको हो।

उक्त समारोहमा सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका जापानी वैज्ञानिक तथा टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने उपकुलपति प्रा. डा. दीपक अर्यालले जानकारी दिए।

उपकुलपति अर्यालका अनुसार दीक्षान्त समारोहका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। मञ्च निर्माणदेखि दीक्षित विद्यार्थी तथा अभिभावक बस्ने व्यवस्थासम्मका सबै काम सम्पन्न गरिएको उनले बताए।

यस वर्ष दीक्षान्त समारोहमा १६ हजार ३ सयभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन्। विद्यार्थी, अभिभावक तथा अतिथिसहित करिब ४१ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ। विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका छन्।

कार्यक्रममा विभिन्न संकाय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ, जसमा ११ छात्रा र १४ छात्र रहेका छन्। संकायगत रूपमा मानविकीबाट १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनबाट २ हजार ३३५ र शिक्षाबाट १६ हजार ४६७ विद्यार्थी उत्तीर्ण भएका छन्।