सर्लाही–४ मा गगन थापा: ‘दुई–चार शब्द रटेर स्थानीयपन देखाउने अभिनय गर्दिनँ’


सर्लाही–४ मा गगन थापा: ‘दुई–चार शब्द रटेर स्थानीयपन देखाउने अभिनय गर्दिनँ’
  • नवकिरण
  • माघ १३, २०८२

सर्लाही, माघ १३ – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू चुनावी मौसममा मात्र देखिने र पछि हराउने किसिमको नेता नभएको स्पष्ट पारेका छन्। सर्लाही–४ का उम्मेदवारसमेत रहेका थापाले यहाँका जनता र भूमिसँग दीर्घकालीन भावनात्मक सम्बन्ध जोड्ने लक्ष्यसहित आफू आएको बताएका छन्।

मंगलबार बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मत माग्ने बहानामा आउने, फोटो खिच्ने र हात हल्लाएर फर्किने प्रवृत्तिबाट आफू अलग रहेको जिकिर गरे।

कार्यक्रमका क्रममा स्थानीय भाषाका केही शब्द प्रयोग गर्न सुझाव आएको उल्लेख गर्दै थापाले ताली पाउनकै लागि बनावटी प्रदर्शन नगर्ने बताए। “रातभरि रटेर केही क्षणका लागि स्थानीय भाषा बोलेको जस्तो देखिनु मेरो उद्देश्य होइन,” उनले भने, “यहाँको जनप्रतिनिधि बनेपछि ६ महिना लागोस् वा एक वर्ष, म भाषा सिकेर, सबैलाई नामले चिनेर आत्मविश्वासका साथ बोल्ने अवस्थामा पुग्छु।”

काठमाडौंका सांसद रहँदा गैर–नेवार हुँदाहुँदै पनि नेवार समुदायको संस्कृति, जात्रा र पर्वमा सक्रिय सहभागिता जनाएर विश्वास जितेको स्मरण गर्दै उनले सर्लाहीमा पनि त्यस्तै आत्मीय सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाए।

आफू चटके र नौटङ्की भाषण गर्न नजान्ने भन्दै थापाले सर्लाही–४ का जनतासँग नेता होइन, जिम्मेवार साथी, भाइ वा छोराको भूमिकामा काम गर्ने बताए। उनका अनुसार तीन दिनसम्म निर्वाचन क्षेत्रमा बसेर त्यसपछि पार्टीको कामका लागि काठमाडौं जाने र पुनः फर्किएर सकेसम्म धेरै समय जनताको घरदैलोमै बिताउने योजना रहेको छ।