सुदन गुरुङलाई फेवातालको जग्गा प्रकरणमा बोल्न हर्क साम्पाङको दबाब


सुदन गुरुङलाई फेवातालको जग्गा प्रकरणमा बोल्न हर्क साम्पाङको दबाब
  • नवकिरण
  • चैत्र २३, २०८२

काठमाडौं, चैत २३ -श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई पोखराको फेवाताल क्षेत्रमा जोडिएको जग्गा विवादबारे सार्वजनिक रूपमा धारणा राख्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले गृहमन्त्रीको नाममा २० रोपनी जग्गा रहेको चर्चा फैलिएको उल्लेख गरेका छन्। उनले यस्तो संवेदनशील विषयमा ढिलाइ नगरी पत्रकार सम्मेलनमार्फत सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन्।

उनका अनुसार स्पष्ट जवाफ नआएमा जनतामा भ्रम फैलिने र सरकारप्रतिको विश्वास कमजोर हुन सक्छ। उनले यसले सुरक्षा निकायभित्र पनि असर पार्न सक्ने संकेत गरेका छन्।

साम्पाङले काम गर्ने क्रममा आलोचना र आरोप आउनु स्वाभाविक भए पनि विवादित विषयमा चुप लागेर बस्न नहुने धारणा व्यक्त गरेका छन्। फेवातालको जग्गा विषयले सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको उनले बताएका छन्।

त्यसैगरी, उनले आफूले उठाउँदै आएका जेनजी आन्दोलन र सहकारी ठगी प्रकरणलाई पनि प्राथमिकतामा राख्न गृहमन्त्रीलाई आग्रह गरेका छन्। दोषीलाई कारबाही र सम्बन्धित व्यक्तिलाई कानुनी प्रक्रियामा ल्याउन उनले जोड दिएका छन्।