काठमाडौं, वैशाख ३० – प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका नेता रामबहादुर थापा बादल ले प्रयोग गरेका केही विवादित अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाइएको छ । सभामुख डोलप्रसाद अर्याल ले ती शब्दहरू असंसदीय भएको निष्कर्ष निकाल्दै संसद् सचिवालयलाई हटाउन निर्देशन दिएका हुन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेता बादलले सम्बोधनका क्रममा प्रयोग गरेका केही शब्दप्रति सत्तापक्षका सांसदहरूले आपत्ति जनाएका थिए । त्यसलगत्तै सभामुखले नियमावलीअनुसार आवश्यक निर्णय लिएका थिए ।
बुधबारको बैठकमा एमाले प्रमुख सचेतक ऐन महरले हटाइएका शब्दबारे जानकारी मागेपछि सभामुख अर्यालले खुलाएका थिए । उनका अनुसार ‘अराजकहरूको भिड’, ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू’ र ‘नेपाली सेना मूकदर्शक’ भन्ने अभिव्यक्तिहरू संसद्को अभिलेखबाट हटाइएको हो ।
सभामुखले प्रतिनिधिसभा नियमावलीको व्यवस्था विपरीत जाने शब्द प्रयोग भएकाले रेकर्ड सच्याउन निर्देशन दिइएको बताएका थिए ।
यद्यपि एमाले सांसद गुरु बरालले भने एउटै पक्षका अभिव्यक्ति मात्र हटाइएको भन्दै असन्तुष्टि जनाए । उनले संसद्मा अन्य सांसदहरूले प्रयोग गरेका आपत्तिजनक शब्दहरूमा पनि समान मापदण्ड लागू गर्नुपर्ने माग गरे ।
