होटल–रेष्टुरेन्टको खानाको गुणस्तरमा कडाइ, दोषी व्यवसायीमाथि कानुनी कारबाही हुने


होटल–रेष्टुरेन्टको खानाको गुणस्तरमा कडाइ, दोषी व्यवसायीमाथि कानुनी कारबाही हुने
  • नवकिरण
  • अषाढ १६, २०८३

काठमाडौं, असार १६ – होटल तथा रेष्टुरेन्टमा अस्वच्छ तथा गुणस्तरहीन खाना बिक्री–वितरण गर्ने व्यवसायीमाथि अब कडा कानुनी कारबाही गरिने भएको छ।

गृहमन्त्री सुधन गुरुङले देशभरका प्रशासनिक निकायलाई बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीमाथि कानुनअनुसार कडा कदम चाल्न निर्देशन दिएका छन्।

गृहमन्त्रीको निर्देशनपछि गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै बजार अनुगमन नियमित, सघन र आवश्यकताअनुसार आकस्मिक रूपमा सञ्चालन गर्न भनेको छ। मन्त्रालयका अनुसार पछिल्ला दिनमा होटल तथा रेष्टुरेन्टको सरसफाइ तथा खानाको गुणस्तरबारे नागरिकबाट धेरै गुनासा आएपछि यस्तो निर्णय गरिएको हो।

मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षा राज्यको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै खाद्य गुणस्तरमा लापरबाही गर्ने र प्रचलित कानुन उल्लङ्घन गर्ने व्यवसायीलाई कुनै छुट नदिन निर्देशन दिएको छ।

यससँगै प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत गुनासो सेवा सञ्चालन गर्न, नागरिकबाट आउने उजुरीलाई तत्काल सम्बोधन गर्न तथा सामान्य प्रकृतिका समस्या स्थानीय तहबाटै समाधान हुने वातावरण बनाउन पनि निर्देशन दिइएको छ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै बजारमा कानुनी शासन कायम गर्न र प्रशासनप्रति नागरिकको विश्वास अझ बलियो बनाउन निर्देशनको पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।