काठमाडौं, फागुन १८ – पहाडी जिल्लाहरूमा सोमबार होली पर्व मनाइँदै गर्दा काठमाडौंको बसन्तपुर क्षेत्र पनि रंगीन बनेको छ। बिहानैदेखि स्थानीयवासी तथा पर्यटकहरूको उपस्थितिमा बसन्तपुर क्षेत्रमा होली खेल्ने क्रम सुरू भएको हो।
हरेक वर्षझैं यस वर्ष पनि बसन्तपुरमा ठूलो संख्यामा मानिसहरू भेला भएका छन्। विशेष गरी विदेशी पर्यटकहरू स्थानीयहरूसँगै रंगमा रमाउँदै देखिएका छन्।
तर, फागुन २१ गते हुन लागेको निर्वाचनका कारण विगतका वर्षहरूको तुलनामा यसपटकको उत्साह केही कम देखिएको छ। चुनावी माहोलका कारण धेरैजसो व्यक्ति प्रचारप्रसारमा व्यस्त रहेका छन्।
यस्तै, प्रशासनले पनि भीडभाड नगरी संयमित रूपमा तथा घरपरिवारमै होली मनाउन आग्रह गरेको छ। त्यसका बाबजुद बसन्तपुर क्षेत्रमा भने बिहानदेखि नै रंग खेल्नेहरूको चहलपहल देखिएको छ।
