काठमाडौं, वैशाख १७ – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजतन्त्रप्रति कडा व्यङ्ग्य गर्दै तानाशाही राजतन्त्र अब कहिल्यै नफर्किने दाबी गरेका छन्।
बुधबार राजधानीको नाचघरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको भूतले बेलाबेला तर्साउन खोजे पनि त्यो अब फर्केर नआउने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले भने, “तानाशाहीका प्रेत घरीघरी तर्साउन आइराख्न खोज्छन्। प्रेत कहिल्यै फर्केर आउन सक्दैन। विवाह पनि यिनीहरूले भनेजस्तै गर्नुपर्ने ? लभ गर्न पनि नपाइने भयो कि क्या हो !”
उनले अभिनेत्री सुरक्षा पन्तले पूर्व नवयुवराज हृदयन्द्र शाहलाई लक्षित गरी बोलेको अभिव्यक्तिको कारण केही राजावादीहरूले चलचित्र बहिष्कार गरेकोप्रति असन्तुष्टि जनाए। वाक स्वतन्त्रताको अपमान गर्दै कलाकारले अभिव्यक्ति दिएको भरमा तानाशाही सोच भएकाहरूले चलचित्र बहिष्कार गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको उनले बताए।
प्रधानमन्त्री ओलीले अहिले पनि केही सानो समूह राजतन्त्र फर्काउने सपना देखिरहेको उल्लेख गर्दै त्यसप्रति व्यङ्ग्य गरे। उनले विगतमा जस्तै ढ्याङ्ग्रो ठोकेर भूतप्रेत भगाउनेजस्तो गरी अब पनि तानाशाही सोच हटाउन ढ्याङ्ग्रो ठोक्न आग्रह गरे।