२०७४ पछिका वर्ष गुमेका अवसर, अब ०८२–०८७ लाई स्वर्णिम बनाउने गगन थापाको दाबी


२०७४ पछिका वर्ष गुमेका अवसर, अब ०८२–०८७ लाई स्वर्णिम बनाउने गगन थापाको दाबी
  • नवकिरण
  • फागुन १४, २०८२

काठमाडौं, फागुन १४ – गगन थापाले २०७४ यताका वर्षहरू नेपालको राजनीतिक इतिहासमा अपेक्षा अनुसार उपयोग हुन नसकेको बताएका छन्।

कर्णाली प्रदेशको चुनावी सभालाई सम्बोधन गर्दै उनले २०७२ सालमा जारी भएको संविधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने समय सरकार गठन र विघटनकै चक्रमा बितेको टिप्पणी गरे।

उनका अनुसार पछिल्ला आठ वर्ष स्थिर नीति र स्पष्ट दिशा अभावमा गुज्रिए। “सरकार बनाउने, टिकाउने र गिराउनेमै राजनीति सीमित रह्यो,” उनले भने, “त्यसै कारण संविधानमा उल्लेखित जनतामुखी प्रावधान व्यवहारमा उतार्न सकिएन।”

थापाले मधेश र कर्णालीजस्ता क्षेत्रका समस्या अझै समाधान हुन नसकेको स्वीकार गरे। २०५२ देखि २०६३/६४ सम्म कर्णालीले भोगेको द्वन्द्व र हिंसाको स्मरण गर्दै उनले त्यसपछि पुनर्निर्माण र विकासमा पर्याप्त ध्यान दिन नसकिएको बताए।

अबको पाँच वर्षलाई निर्णायक मोडका रूपमा लिँदै उनले २०८२ देखि २०८७ सम्मको अवधि देशका लागि ‘स्वर्णिम काल’ बनाउने प्रतिबद्धता जनाए। “अब समय खेर फाल्ने छुट छैन,” उनले भने, “हामीसँग योजना छ, लक्ष्य छ र देश बनाउने दृढ संकल्प छ।”

उनले बदलिएको कांग्रेससँग विकासको चाहना र जिम्मेवारी दुवै रहेको दाबी गर्दै पार्टी देशको समृद्धि र जनताको अपेक्षा पूरा गर्न तयार रहेको बताए।