काठमाडौं, फागुन १० – काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरभित्र चितुवा पसेपछि दुई जना स्थानीय घाइते भएका छन्। आइतबार दिउँसो भएको घटनामा चितुवाको आक्रमणबाट दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार चितुवा स्थानीय अनोजमणी अधिकारीको घरभित्र पसेको थियो। घरभित्रै आक्रमण हुँदा दुवै जना सामान्य रूपमा घाइते भएका हुन्।
घाइते महर्जनको टाउको र बायाँ हातमा चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट लागेको बताइएको छ। उपचारका लागि महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि स्थानीय र प्रहरीको सक्रियतामा चितुवालाई घरभित्रै नियन्त्रणमा राखिएको छ। वन कार्यालयको टोलीलाई बोलाइएको र चितुवालाई सुरक्षित रूपमा उद्धार गर्ने तयारी भइरहेको एसपी भट्टराईले बताएका छन्।
यस घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ भने चितुवालाई सुरक्षित रूपमा जंगल फर्काउने प्रक्रिया अघि बढाइएको छ।
