काठमाडौं, फागुन ११ – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार मध्यराति यात्रुबाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खस्दा ठूलो मानवीय क्षति भएको हो।
प्रहरीका अनुसार दुर्घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो। घाइतेमध्ये एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएपछि मृतक संख्या १८ पुगेको हो।
दुर्घटनामा घाइते भएका २५ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। तीमध्ये १५ जनाको ट्रमा सेन्टर र १० जनाको कलंकीस्थित नेशनल अस्पतालमा उपचार भइरहेको छ। ट्रमा सेन्टरमा एक अन्दाजी ३२ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने अन्य घाइतेको अवस्था निगरानीमा राखिएको छ।
घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। चिकित्सक टोलीले निरन्तर उपचार गरिरहेको र आवश्यक परे थप स्वास्थ्य सेवा उपलब्ध गराइने तयारी गरिएको छ।
बसमा कति जना सवार थिए भन्ने यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ। घटनापछि स्थानीय बासिन्दा, प्रहरी र उद्धारकर्मीले रातभर उद्धार कार्य सञ्चालन गरेका थिए।
