काठमाडौं, फागुन १४ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। बिहीबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो भनाइलाई चुनावी तालमेलसँग जोडेर प्रचार गरिएकोमा आपत्ति प्रकट गरे।
उनले विगतमा विस्तृत शान्ति सम्झौता र संविधानसभा गठनको क्रममा आवश्यकताअनुसार कांग्रेस र एमालेसँग सहकार्य गरिएको स्मरण गराए। देशका उपलब्धिहरू जोगाउन र संविधानको रक्षा गर्नुपर्ने प्रसंगमा मात्रै सहकार्यको कुरा उठाइएको स्पष्ट पार्दै उनले त्यसलाई तत्कालीन चुनावी गठबन्धनको संकेतका रूपमा लिनु अनुचित भएको बताए।
यसअघि विदेशी हस्तक्षेप र प्रतिगामी शक्तिहरूको सामना गर्न प्रमुख राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा उनले सार्वजनिक गरेका थिए। सो अभिव्यक्तिलाई आधार बनाउँदै विभिन्न कोणबाट टिप्पणी गरिएको भन्दै उनले गम्भीर विषयलाई तोडमोड गरेर प्रस्तुत गर्नु उचित नभएको बताए।
प्रचण्डले भदौ २३ अघिसम्मका सन्दर्भमा कांग्रेस–एमालेसँग सहकार्यको इतिहास रहेको उल्लेख गरे पनि त्यसपछिका गतिविधिलाई भने फरक रूपमा हेर्नुपर्ने बताए।
संविधान, गणतन्त्र, संघीयता र समावेशी व्यवस्थामाथि कुनै खतरा आए सबैसँग मिलेर प्रतिवाद गर्ने स्पष्ट पार्दै उनले अहिलेको अवस्थामा कांग्रेस–एमाले आफ्ना सहयात्री नरहेको धारणा राखे।
