चुनावी अभियान तीव्र बनाउँदै कांग्रेस, आज ३ जिल्ला केन्द्रित


चुनावी अभियान तीव्र बनाउँदै कांग्रेस, आज ३ जिल्ला केन्द्रित
  • नवकिरण
  • फागुन १५, २०८२

काठमाडौं, फागुन १५ – नेपाली कांग्रेस ले निर्वाचन अभियानलाई व्यापक बनाउँदै शुक्रबार एकैदिन तीन जिल्लामा चुनावी आमसभा गर्ने भएको छ। पार्टीले रूपन्देही, बागलुङ र कास्कीमा कार्यक्रम तय गरेको जानकारी दिएको छ।

पार्टीका शीर्ष नेता गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा ले ती सभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बिहान ११ बजे रूपन्देहीको बुटवलबाट अभियान सुरु हुनेछ भने दिउँसो १ बजे बागलुङ र ३ बजे कास्कीको पोखरामा सभा आयोजना गरिनेछ।

कांग्रेसले ती कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने र अन्य दलबाट आएका नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गर्ने योजना बनाएको जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा जोड दिइएको बताइएको छ।

यसअघि बिहीबार सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित सभालाई सम्बोधन गरेका थिए। सुर्खेतको कार्यक्रममा उपसभापति पुष्पा भुसाल पनि सहभागी थिइन्। कांग्रेसले आगामी दिनहरूमा पनि देशका विभिन्न जिल्लामा यस्तै कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको छ।