काठमाडौं, फागुन १५ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले सरकार गठन गरे भ्रष्टाचारविरुद्ध कडा अभियान सुरु गर्ने र त्यसको पहिलो कदमका रूपमा पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति शेरबहादुर देउवाको सम्पत्तिको छानबिन गरिने बताएका छन्।
पोखरामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले २०४६ सालपछि प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्तिमाथि निष्पक्ष अनुसन्धान गरिने स्पष्ट पारे। उनले देउवा मात्र नभई आफू मन्त्री भएका बेला आर्जित सम्पत्तिसमेत छानबिनको दायरामा ल्याइने उल्लेख गरे।
“देशले अब भ्रष्टाचारबाट मुक्ति खोजेको छ,” थापाले भने, “हामी शक्तिशाली छानबिन आयोग गठन गर्छौं। आफ्नै नेता किन नहोस्, कसैलाई पनि उन्मुक्ति दिइँदैन। एउटा–एउटा काण्डको गहिरो अनुसन्धान हुन्छ र भविष्यमा यस्ता काण्ड दोहोरिन नदिने व्यवस्था गरिन्छ।”
उनले कांग्रेसको सरकार नियम र कानुनको परिधिभित्र रहेर सुशासन स्थापित गर्न प्रतिबद्ध रहेको दाबी गरे। शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र उद्योग क्षेत्रमा पाँच वर्षभित्रै उल्लेखनीय परिवर्तन ल्याउने लक्ष्यसहित पार्टी अघि बढेको उनको भनाइ थियो।
थापाले परिवर्तनका नाममा दण्डात्मक वा प्रतिशोधात्मक शैली अपनाइने नभई कानुनी प्रक्रिया र संस्थागत सुधारमार्फत परिणाम दिने बताए। “चावुक चलाएर होइन, कानुनको शासनबाटै रूपान्तरण सम्भव छ,” उनले जोड दिए।
