सिंगापुरबाट उपचारपछि फर्किए देउवा, विमानस्थलमा कांग्रेस कार्यकर्ताको उत्साहपूर्ण स्वागत


सिंगापुरबाट उपचारपछि फर्किए देउवा, विमानस्थलमा कांग्रेस कार्यकर्ताको उत्साहपूर्ण स्वागत
  • नवकिरण
  • श्रावण २८, २०८३

काठमाडौं, साउन २८ – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा थप उपचार सकेर बिहीबार स्वदेश फर्किएका छन्। सिंगापुरमा उपचार गराएपछि उनी थाइ एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन्।

देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै कांग्रेसका नेता तथा कार्यकर्ताले उनको भव्य स्वागत गरेका छन्। स्वागतका लागि विमानस्थलमा उल्लेख्य संख्यामा नेता–कार्यकर्ता उपस्थित भएका थिए।

देउवाको स्वागतमा बाजागाजासहित सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। लामो समयपछि स्वदेश फर्किएका देउवालाई स्वागत गर्न पुगेका कार्यकर्ताले उत्साह प्रदर्शन गरेका थिए।

उनको आगमनलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था पनि थप कडा बनाइएको थियो। विमानस्थल परिसरमा सुरक्षा तथा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो।

देउवा गत फागुनमा थप उपचारका लागि सिंगापुर गएका थिए। यसअघि गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी उनी घाइते भएका थिए।

उपचारपछि देउवा स्वदेश फर्किएसँगै नेपाली कांग्रेसको राजनीतिक गतिविधिमा उनको पुनः सक्रियता बढ्ने अपेक्षा गरिएको छ। उनको स्वागतमा देखिएको ठूलो उपस्थितिले पनि कांग्रेसभित्र देउवाको आगमनलाई विशेष महत्त्वका साथ हेरिएको संकेत गरेको छ।