काठमाडौं, असार २७ – नेकपा एमालेसँगको छलफल निष्कर्षविहीन भएपछि वामदेव गौतमले अन्ततः नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने निर्णय गरेका छन्।
आज बिहान समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्नेसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार आगामी २०८२ साउन २ गते राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरी पार्टी एकताको औपचारिक घोषणा गरिनेछ।
सहमति पत्रमा दुवै पक्षबीच राजनीतिक विचार, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र रणनीतिमा समानता रहेको उल्लेख छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न यो ऐतिहासिक कदम चालिएको जनाइएको छ।
गौतम यसअघि पनि समाजवादी पार्टीमा जान चाहेका थिए तर उनले माग गरेको भूमिका र जिम्मेवारी पाउन नसकेपछि फेरि एमालेसँग संवादमा होमिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई उपयुक्त जिम्मेवारी दिने आश्वासन दिएका थिए। तर, अन्ततः त्यो सहकार्य सम्भव नभएपछि गौतमले समाजवादीसँगको एकता रोजेका हुन्।
२०७८ सालमा एमाले पार्टी विभाजन हुँदा वामदेव गौतमले ओलीप्रति असन्तुष्टि जनाउँदै पार्टी त्याग गरेका थिए। त्यसपछि उनले स्वतन्त्र रूपमा ‘नेकपा एकता राष्ट्रिय अभियान’ सञ्चालन गर्दै आएका थिए। अब त्यो अभियान औपचारिक रूपमा नेकपा एकीकृत समाजवादीमा विलय हुने भएको छ।