विद्या भण्डारीको समर्थन गरेपछि युवा संघ अध्यक्ष सुरज खरेल निलम्बन


विद्या भण्डारीको समर्थन गरेपछि युवा संघ अध्यक्ष सुरज खरेल निलम्बन
  • नवकिरण
  • श्रावण १०, २०८२

बुटवल, साउन १० – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुला समर्थन जनाएपछि राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल संगठनबाट निलम्बनमा परेका छन्।

साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो। संघका महासचिव रमेश चौलागाईंद्वारा जारी पत्रअनुसार खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ को संशोधित धाराहरू ४१ र ४२ (क) तथा (ख) अनुसार पदमुक्त गर्दै निलम्बन गरिएको हो।

उनीमाथि १०औं राष्ट्रिय महाधिवेशनका क्रममा संगठनको निर्देशन अवज्ञा गर्नु, सचिवालय बैठक एकल निर्णयमा राख्नु, अध्यक्षमण्डलका सदस्यहरूसँग अभद्र व्यवहार गर्नु र सामाजिक सञ्जालमार्फत नेतृत्वमाथि लाञ्छना लगाउनुजस्ता आरोप लगाइएको छ।

तीन दिनभित्र भौतिक उपस्थितिसहित स्पष्टीकरण दिन भनिए पनि खरेलले इमेलमार्फत तीन पृष्ठ लामो स्पष्टीकरण पठाउँदै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। उनले महाधिवेशनमा अध्यक्षका उम्मेदवार सुमन पुरीलाई समर्थन गरेपनि कसैसँग अभद्र व्यवहार नगरेको र सामाजिक सञ्जालमा विचार राख्नु लोकतान्त्रिक अभ्यास भएको दाबी गरेका छन्।

‘नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराध होइन,’ खरेलले भनेका छन्, ‘म अधिवेशनबाट निर्वाचित भएको अध्यक्ष हुँ, मलाई हटाउन अर्को अधिवेशन चाहिन्छ।’ उनले निलम्बनको निर्णयलाई पूर्वाग्रही र अन्यायपूर्ण भन्दै संगठनमै सक्रिय रही अघि बढ्ने बताएका छन्।

आवश्यक परे समानान्तर कमिटी बनाउने चेतावनीसमेत खरेलले दिएका छन्।

स्मरणीय छ, सुरज खरेल देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन्। केही हप्ता अघि उनले एमाले अध्यक्ष केपी ओलीसँगको तस्वीर राख्दै “जनता बोलिरहेका छन्, सुन्नुहोस्” भन्दै नेतृत्व परिवर्तनको माग सामाजिक सञ्जालमार्फत राखेका थिए।

उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए, ‘पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्य छ। सम्मानसहित मार्गप्रशस्त तपाईं (ओली) ले गर्नुपर्छ।’