काठमाडौँ, भदौ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउने र नितान्त सेवा क्षेत्रको रूपमा हेर्न आग्रह गरेका छन्।
राप्रपाको केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौँमा आयोजना गरेको ‘नारी नेतृत्व समृद्धि’ प्रशिक्षण कार्यक्रममा उनले राजनीति नाफाको लागि नभई सेवा भावबाट गरिनुपर्ने बताएका हुन्। अध्यक्ष लिङ्देनले राजनीतिले आफ्नो जीवनयापनका लागि पर्याप्त आम्दानी नदिने भएकाले राजनीतिमा संलग्न व्यक्तिहरूले अन्य व्यवसाय अवश्य गर्नुपर्ने पनि उल्लेख गरे।
लिङ्देनले आफ्नो राजनीतिक जीवनमा कहिल्यै बेइमानी नगरेको र कसैबाट घुस नलिएको बताउँदै नेपालका स्रोत साधनको पूर्ण उपयोग गर्न सके युवाहरूलाई विदेश जान नपर्ने गरी स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गरे।
साथै, उनले पार्टीका महिला सङ्गठनलाई पार्टीको उद्देश्य पूरा गर्न एकजुट भएर लाग्न निर्देशन दिएका छन्।