प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाको घोषणा पत्र अन्तिम तयारीमा


प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाको घोषणा पत्र अन्तिम तयारीमा
  • नवकिरण
  • माघ २०, २०८२

काठमाडौँ, माघ २० – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तयार गरिरहेको चुनावी घोषणा पत्र अन्तिम चरणमा पुगेको जनाएको छ। पार्टीले केही विषय मिलानको काम बाँकी रहेकाले एक साताभित्र घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

नेकपाले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणा पत्र लेखन समिति गठन गरेको थियो। समितिमा देव गुरुङ, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, प्रमेश हमालसहित २५ जना नेताहरू सहभागी छन्।

लेखन समितिका सदस्य प्रमेश हमालका अनुसार घोषणा पत्रको मस्यौदा तयार भइसकेको छ। “केही प्राविधिक र नीतिगत विषय टुंग्याउन बाँकी छ, एक हप्ताभित्र सार्वजनिक गर्छौँ,” उनले जानकारी दिए।

घोषणा पत्रमा समुदायमा आधारित समाजवादको अवधारणा अघि सारिएको छ। विशेषगरी सुशासन, रोजगारी सृजना, पर्यटन विकास र उत्पादन वृद्धिलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम समेटिएको हमालले बताए। साथै, नयाँ पुस्ता अर्थात् ‘जेनजी’ का भावना र अपेक्षालाई सम्बोधन गर्ने गरी अन्तिम रूप दिइँदैछ।

यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सुशासन, उत्पादन वृद्धि र रोजगारी सृजनालाई घोषणापत्रको मुख्य आधार बनाइने बताएका थिए। भ्रष्टाचारविरुद्ध कडा अभियान, देशभित्रै रोजगारीको अवसर सिर्जना र विदेशिएका युवालाई स्वदेश फर्काउने वातावरण निर्माण पार्टीको प्राथमिकतामा रहेको उनको भनाइ छ।

प्रचण्डका अनुसार घोषणापत्रमा कृषिको आधुनिकीकरण, ऊर्जा क्षेत्रमा क्रान्तिकारी परिवर्तन, स्थानीय तहबाट पर्यटन पूर्वाधार विकास, भौतिक पूर्वाधारलाई तीव्रता दिने योजना तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने विषयहरू समेटिएका छन्।

मस्यौदा समितिका अर्का सदस्य राजेन्द्र श्रेष्ठले जेनजी आन्दोलनले उठाएका मुद्दा र मागलाई सम्बोधन गर्ने गरी घोषणापत्र तयार गरिएको बताए। उनका अनुसार अन्तिम स्वीकृतिका लागि मस्यौदा संयोजक प्रचण्ड समक्ष पठाइएको छ र स्वीकृति भएपछि सार्वजनिक गरिनेछ।

“यसपटक घोषणापत्र विगतभन्दा फरक र थप सशक्त ढंगले आएको छ। जेनजीका मुद्दा, पहिचान, समावेशिता र राजनीतिक संरचनाका विषयमा पार्टीको स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ,” श्रेष्ठले बताए।