पाँचथर, जेठ २१ – नेपाली कांग्रेस पाँचथरका सहसचिव गजेन्द्र राईले पार्टी परित्यागको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देश जारी गर्दै उनले कांग्रेससँगको आफ्नो राजनीतिक सम्बन्ध समाप्त भएको जानकारी दिएका हुन्।
कांग्रेसको साधारण सदस्यता त्यागेका राई अब श्रमशक्ति पार्टीमा आबद्ध हुन लागेका छन्। उनको पार्टी प्रवेश कार्यक्रम जेठ २३ गते पाँचथरको जेभालेमा आयोजना हुने तय भएको छ। कार्यक्रममा श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङ स्वयं उपस्थित भई उनलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ।
जिल्ला तहमा प्रभावशाली नेताका रूपमा परिचित राईको बहिर्गमनले कांग्रेस संगठनलाई असर पार्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ। यता, श्रमशक्ति पार्टीले भने यसलाई आफ्नो संगठन विस्तार र सुदृढीकरणका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
राजनीतिसँगै सामाजिक अभियानमा सक्रिय रहेका राईले अब श्रम, उत्पादन र सामाजिक रूपान्तरणका एजेन्डासहित नयाँ राजनीतिक यात्रालाई अगाडि बढाउने संकेत दिएका छन्। उनी नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट जिल्ला सहसचिवमा निर्वाचित भएका थिए र पार्टीभित्र सुधार तथा विशेष महाधिवेशनको पक्षमा खुलेर वकालत गर्दै आएका थिए।
