काठमाडौँ, जेठ ५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल ले संसद्को शून्य समयमा उठाइने जनसरोकारका विषय सरकारले बेवास्ता गरिरहेको आरोप लगाएका छन् । उनले सांसदहरूले बारम्बार उठाएका समस्यामा कुनै ठोस पहल नभएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका हुन् ।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै खरेलले तामाकोसी आयोजना, सुकुम्बासीको जग्गा समस्या तथा विभिन्न नागरिक सरोकारका विषयमा आफूले पटक–पटक आवाज उठाए पनि सरकार मौन बसेको बताए । उनले वर्षायाम सुरु हुन लाग्दा समेत पीडितको समस्या समाधानमा चासो नदिइएको उल्लेख गरे ।
उनले संसद्को शून्य समय केवल औपचारिकता पूरा गर्ने थलो बन्न नहुने धारणा राखे । सांसदहरूले उठाएका विषय कार्यान्वयनमा नजाने हो भने शून्य समयको औचित्यमाथि प्रश्न उठ्ने उनको भनाइ थियो ।
सांसद खरेलले जनतासँग जोडिएका विषयलाई प्रभावकारी रूपमा सम्बोधन गर्न विशेष संयन्त्र गठन गर्न सरकारलाई सुझाव दिए । उनले संसद्मा उठेका विषयलाई तत्काल अध्ययन गरेर समाधानतर्फ अघि बढाउन शक्तिशाली समिति वा आयोग आवश्यक रहेको बताए ।
उनले रास्वपाकै सांसद हरि ढकाल ले यसअघि सदनमा मौन धारण गरेर सरकारको बेवास्ताविरुद्ध विरोध जनाएको प्रसङ्ग पनि उल्लेख गरे । सरकार समयमै गम्भीर नभए संसद्मा फेरि त्यस्तै परिस्थिति दोहोरिन सक्ने चेतावनी उनले दिए ।
सदनको गरिमा जोगाउन र नागरिकको विश्वास कायम राख्न सरकार जिम्मेवार बन्नुपर्नेमा खरेलले जोड दिएका छन् । जनताका समस्या संसद्मा उठेपछि त्यसको कार्यान्वयनतर्फ स्पष्ट कदम चाल्नुपर्ने उनको भनाइ थियो ।
