२० साउन, काठमाडौं । बिहीबार राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङ प्रश्नोत्तर कार्यक्रममा सरिक भए । तर सांसदहरूका प्रश्नको जवाफ दिन रोष्ट्रम उक्लिएका गृहमन्त्री गुरुङले प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गरे ।
पहिलो प्रश्न नेपाली कम्युनिस्ट पार्टीका सांसद बिष्णु बहादुर विश्वकर्माले गरे । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठाए ।
‘कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडै भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ?,’ विश्वकर्माको प्रश्न छ, ‘यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको उदासीनता हो ? सरकारले हाम्रो चेली निर्मलालाई कहिले सम्म न्याय दिलाउँछ ?’
जवाफमा गृहमन्त्री गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको बताए ।
देशमा हुने हत्या हिंसा बलात्कार लगायतका अपराधहरूको अनुसन्धान चरणबद्ध रुपमा काम गरिरहेको भन्दै गृह मन्त्रालयको मुख्य विषय के हो ख्याल गर्न सुझाए ।
अनि निर्मला पन्तको विषयमा किन प्रश्न उठाएको भनेर प्रश्नकर्ता सांसद विश्वकर्मालाई नै प्रतिप्रश्न गर्न थाले ।
‘माननीयज्यूले उठाउनु भएको विषय एकदमै सेन्सिटिभ छ । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदा खेरि किन नगर्नु भएको यो ?’
आफू सरकारका हुँदा काम नगर्ने अनि नयाँ सरकार बनेपछि विषय उठाएर यो विषय उठाएर घाउलाई कोट्टाउने काम किन गरेको भनेर गृहमन्त्रीले अर्को प्रश्न गरे ।
‘अहिले हामीलाई आएर त्यो भारी बोकाउदै गर्दा खेरि माननीयज्यूलाई एउटा आग्रह गर्न चाहेँ, यो एकदम सेन्सिटिभ विषय हो । यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोट्याको कोट्याइ गर्ने हो कि सदनको मार्फत बाट उहाँलाई पिडा दि राख्ने हो ?’
यसमा चरणबद्ध रुपमा सुक्ष्म तरिकाले अनुसन्धान गरेर रिजल्ट दिनुपर्ने भन्दै फेरि प्रश्न गरे, ‘तपाई कोहि मान्छे बित्दै गर्दा खेरि त्यसबारे दिनका दिन सम्झाउँदा, राष्ट्रिय स्तरबाट सम्झाउँदा तपाईलाई मजा आउछ होला त ? तपाईलाई मनमा शान्ति हुन्छ होला त ? यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु ।’
प्रतिप्रश्न पछि गृहमन्त्री गुरुङले वर्तमान सरकारले पनि यो विषयमा अनुसन्धान गरिरहेको जवाफ दिए ।
‘यसमा म धेरै कुरा बोल्न सक्दिन । बोल्दा उचित हुदैन होला जस्तो लाग्छ । यो अनुसन्धानको विषय हो यो, यसमा हामीले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौ’ उनले भने ।
यत्ति भनेर गृहमन्त्री गुरुङले सांसदहरूलाई यो विषयमा फेरि प्रश्न नउठाउन चेतावनी दिए ।
‘म सम्पूर्ण माननीयज्युहरूलाई यसलाई (निर्मला पन्तको हत्यापछि बलात्कार भएको विषयलाई) अब प्रतिनिधि सभा र राष्ट्रिय सभामा यो प्रश्न नउठाइदिनु हुन म हजुरहरूलाई विनम्र अनुरोध आग्रह गर्न चाहन्छु,’ गुरुङले भनेका छन् ।
