काठमाडौँ, कार्तिक ११ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सोमबार राति सिंगापुर प्रस्थान गरेका छन्। उनी पत्नी तथा पार्टी केन्द्रीय सदस्य डा. आरजु राणासहित सिंगापुर गएका हुन्।
देउवा जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका थिए। भदौ २४ गते भएको घटनामा धारिलो हतियारको प्रहारबाट उनको टाउकोमा चोट लागेपछि १२ टाँका लगाइएको थियो। त्यसयता उनी लामो समयदेखि सैनिक अस्पतालमा उपचाररत थिए।
गत असोज १८ गते पार्टी केन्द्रीय समिति बैठकका क्रममा छोटो समय सानेपा पार्टी कार्यालयमा उपस्थित भएका देउवाले त्यसबेला उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।
उनी सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर प्रस्थान गरेका हुन्। विमानस्थलमा उनी स्वाभाविक रूपमा हिँड्दै प्रवेश गरेका देखिएका थिए। तर सिंगापुरको चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा भने देउवा र उनकी पत्नी दुवै ह्विलचियरमा देखिएको तस्बिर सार्वजनिक भएको छ। पत्रकार सुवास कार्कीले सामाजिक सञ्जालमार्फत उक्त तस्बिर साझा गरेका हुन्।
यसबीच नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै देउवा चिकित्सकको सल्लाहअनुसार थप स्वास्थ्योपचारका लागि सिंगापुर गएको जानकारी दिएका छन्।
