सर्लाही–४ मा गगन थापा र अमरेशकुमार सिंह आमने–सामने, कसले मार्ला बाजी?


सर्लाही–४ मा गगन थापा र अमरेशकुमार सिंह आमने–सामने, कसले मार्ला बाजी?
  • नवकिरण
  • माघ ६, २०८२

सर्लाही, माघ ६ – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो परम्परागत क्षेत्र काठमाडौं–४ छाड्दै मधेश प्रदेशको सर्लाही–४ रोजेका छन्। आसन्न निर्वाचनमा उनी सर्लाही–४ बाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने भएका हुन्।

सर्लाही–४ मा कांग्रेस सभापति थापा र स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। डा. सिंह कांग्रेसका पुराना नेता हुन्। प्रतिनिधिसभा निर्वाचन–२०७९ मा कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए र निर्वाचित भएका थिए।

डा. सिंह सोमबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। सर्लाही–४ मा नेकपा एमालेले रविसिंह कुशवाहा र नेपाल कम्युनिस्ट पार्टीले डा. रगनिस राय यादवलाई उम्मेदवार बनाएको छ।

गत निर्वाचनमा पनि गगन थापा सर्लाही–४ बाट निर्वाचन लड्ने चर्चा चलेको थियो। त्यतिबेला टिकट नपाएपछि डा. सिंहले टिकट नदिने निर्णयमा थापाको भूमिका रहेको आरोप लगाएका थिए।

२०७९ को निर्वाचनमा डा. सिंहले २० हजार १७ मतसहित प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेका थिए।

त्यस निर्वाचनमा स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १४ हजार ६२२ मतसहित तेस्रो र जनता समाजवादी पार्टी (जसपा) नेपालका राजेशकुमार मिश्र ५ हजार ८१३ मतसहित चौथो स्थानमा रहेका थिए।