काठमाडौं, चैत १८ – अप्रिल १ अर्थात् ‘अप्रिल फूल’ का दिन नेपाल प्रहरीले रमाइलो शैलीमा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ । सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको एक पोस्टमा प्रहरीले ‘तपाईंविरुद्ध कुनै उजुरी परेको छ कि छैन हेर्न क्यूआर कोड स्क्यान गर्नुहोस्’ भन्दै प्रयोगकर्तालाई आकर्षित गरेको थियो।
तर, उक्त क्यूआर कोड स्क्यान गर्नेबित्तिकै प्रयोगकर्ताले ‘अप्रिल फूल’ सन्देश प्राप्त गरे। त्यससँगै प्रहरीले क्यूआर कोडमार्फत् हुन सक्ने ठगीबारे सचेत गराउँदै महत्वपूर्ण सन्देश पनि दिएको छ। सन्देशमा अपरिचित वा अज्ञात स्रोतबाट प्राप्त क्यूआर कोड स्क्यान नगर्न, स्क्यान गर्नुअघि अनिवार्य रूपमा सत्यापन गर्न र परिवारका सदस्यलाई समेत यसबारे जानकारी गराउन आग्रह गरिएको छ।
प्रविधिको विस्तारसँगै बढ्दो साइबर जोखिमलाई मध्यनजर गर्दै प्रहरीले यस्ता सिर्जनात्मक तरिकाबाट जनचेतना फैलाउने प्रयास गरेको जनाएको छ। विशेषगरी युवा पुस्ताले यस अभियानलाई सकारात्मक रूपमा लिएका छन्।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले आफू झुक्किएको अनुभव साझा गर्दै प्रहरीको प्रयासको प्रशंसा गरेका छन्। रमाइलो शैलीमा गम्भीर विषयमा सचेत गराएको भन्दै प्रयोगकर्ताले यस्तो अभियानलाई प्रभावकारी ठानेका छन्।
