रवि लामिछानेको जमानत निवेदनमाथि उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै


रवि लामिछानेको जमानत निवेदनमाथि उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै
  • नवकिरण
  • कार्तिक १३, २०८२

बुटवल, कात्तिक १३ – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा सुनुवाइ हुँदैछ।

मामिला उच्च अदालतका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा परेको हो। यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले दुवै मुद्दा एउटै प्रकृतिको भएकाले संयुक्त रूपमा सुनुवाइ गर्न आदेश दिएको थियो।

लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गरी थुनामुक्त हुन माग गरेका थिए। तर जिल्ला अदालत रुपन्देहीले साउन २६ गते उनको रिहा माग अस्वीकार गरेको थियो। त्यसपछि उनले उच्च अदालतमा भदौ ९ गते निवेदन दर्ता गराएका थिए।

छविलाल जोशीले पनि समान रकमको बिगो दाखिला गरे पनि अदालतले दुवैको जिम्मेवारीमा पर्ने ठ्याक्कै रकम निर्धारण नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार आज सरकारी वकिल र प्रतिवादी पक्षका कानूनी प्रतिनिधिबीच बहस हुने छ।

यसअघि जेन-जी आन्दोलनका क्रममा उच्च अदालत परिसरमा भएको आगजनी र तोडफोडका घटनाबाट पनि दुवै अभियुक्तको मामिला फाइल सुरक्षित रहेको जनाइएको छ।

सुप्रिम सहकारी प्रकरणमा रवि लामिछाने र अन्य प्रतिवादीहरूमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बराबरको सामूहिक बिगो कायम गरिएको अभियोगपत्र दायर भएको छ। हाल लामिछानेलाई ललितपुरको नख्खु कारागारमा, र जोशीलाई भैरहवा कारागारमा पुर्पक्षका लागि राखिएको छ।